सांसद विनोद चौधरीको पहलमा धुलिखेल अस्पतालको विशेषज्ञ टोली चौपत्ता अस्पतालमा, सेवा विस्तारको तयारी

नवलपरासी, वैशाख ९ –
पश्चिम नवलपरासीको बर्दघाट–१४ मा अवस्थित चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल) मा सेवा विस्तारको उद्देश्यसहित सांसद विनोद चौधरीले धुलिखेल अस्पतालको विशेषज्ञ टोलीको साथमा स्थलगत निरीक्षण गरेका छन्।

धुलिखेल अस्पतालको आउटरिच सेन्टरको रूपमा चौपत्ता अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित सांसद चौधरीको पहलमा धुलिखेल अस्पताल र बर्दघाट नगरपालिकाबीच समन्वय भइरहेको छ।


विशेषज्ञ सेवा नवलपरासीमै उपलब्ध गराउने लक्ष्य

धुलिखेल अस्पतालका चिकित्सक टोलीले चौपत्ता अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति तथा सेवा प्रवाहको अवस्था निरीक्षण गर्दै प्रभावकारी र व्यवस्थित सेवा प्रवाहबारे सरोकारवालासँग छलफल गरेको हो।

सांसद चौधरीले भने, “धुलिखेल अस्पतालको विशेषज्ञ सेवा पश्चिम नवलपरासीमै ल्याउने प्रयासले यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सहज रूपमा उपलब्ध गराउनेछ।”


६ डायलासिस मेसिन, कर्मचारी तालिम र सेवा विस्तारको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लब अफ धुलिखेलमार्फत ६ वटा डायलासिस मेसिन चौपत्ता अस्पताललाई उपलब्ध गराइएको छ। धुलिखेल अस्पतालले मेसिन सञ्चालन सम्बन्धी तालिम पनि प्रदान गरिरहेको छ।

धुलिखेल अस्पतालसँगको सहकार्यबाट चौपत्ता अस्पतालमा अत्यावश्यक उपचारका सेवा सुरु गर्ने र जटिल केसलाई धुलिखेल रिफर गर्ने व्यवस्था मिलाइनेछ।


स्वास्थ्य, शिक्षा र रोजगारी प्राथमिकता : सांसद चौधरी

सांसद चौधरीले आफ्नो निर्वाचनका बेला चौपत्ता अस्पताललाई नमूना र रेफरल अस्पतालको रूपमा विकास गर्ने घोषणा गरेका थिए। उनले बर्दघाटमा चिसापानी अस्पतालको पुनर्निर्माण गराइसकेका छन् भने देशकै पहिलो ग्रामीण ट्रमा सेन्टर पनि बर्दघाटमा निर्माणाधीन अवस्थामा छ।