रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्दै – यी हुन् प्रमुख एजेन्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति बैठक भोलि (बिहीबार) बोलाएको छ। कार्यबाहक सभापति डीपी अर्यालको आह्वानमा बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक बस्ने तय भएको हो।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णयहरूको पुनरावलोकन, वर्तमान पार्टी गतिविधिहरू, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रममाथि गम्भीर छलफल हुने बताइएको छ।
बैठकका प्रमुख एजेन्डा:
- महाधिवेशन कार्य विवरणमाथि छलफल
- जन यात्रा कार्यक्रमको मूल्यांकन
- ब्लुप्रिन्ट कार्यदलको रिपोर्टिङ
- लिडरशिप एकेडेमीको अवधारणा
- प्रशिक्षण कार्यक्रमहरू
- संगठन सबलीकरणका रणनीतिहरू
रास्वपाले पछिल्लो समय विभिन्न सांगठनिक अभियान तीव्र बनाउँदै ल्याएको सन्दर्भमा यो बैठकले पार्टीको आगामी योजना र रणनीति तय गर्ने महत्त्वपूर्ण मोडको रूपमा हेरिएको छ।





