राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरे

राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरे

काठमाडौं, ३ वैशाख २०८२।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभा — को बैठक आगामी वैशाख १२ गतेका लागि आह्वान गर्नुभएको छ। बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नु भएको हो।

यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ। संविधान अनुसार हरेक आर्थिक वर्षको वार्षिक आय-व्यय विवरण (बजेट) संसद् समक्ष प्रस्तुत गर्नुपर्छ। त्यसका लागि बजेट अधिवेशन अनिवार्य रूपमा बोलाइन्छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्ने तयारीस्वरूप यो अधिवेशन महत्त्वपूर्ण मानिएको छ।

यस अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता, कर नीतिमा हुने सम्भावित परिवर्तन, तथा आर्थिक सुधारका विभिन्न कार्यक्रम प्रस्तुत गर्नेछ। साथै, विभिन्न विधेयक र प्रस्तावहरु पनि छलफलका लागि संसदमा पेश गरिने अपेक्षा गरिएको छ।

सरकार र प्रमुख प्रतिपक्ष दलबीचका पछिल्ला राजनीतिक तानातानीको पृष्ठभूमिमा यो अधिवेशन अझ चासोको विषय बन्ने देखिएको छ।

संसद् सचिवालयले अब अधिवेशनको पूर्वतयारीहरूलाई तीव्रता दिनेछ, जसमा संसद् सदस्यहरूको उपस्थिति सुनिश्चित गर्ने, कार्यसूची तय गर्ने र छलफलका विषयवस्तु तयारी गर्ने काम समावेश हुन्छ।

यसपटकको बजेट अधिवेशनले देशको आर्थिक अवस्था, रोजगार सृजना, विकास योजना, तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयहरूमा महत्वपूर्ण बहस र निर्णयको अपेक्षा गरिएको छ।