काठमाडौँ, १५ चैत्र – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यतालिका रहेको छ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू टेबुल गरिने र छलफल गरी पारित गरिने सम्भावना छ।
प्रतिनिधिसभाको बैठक
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा निम्न विषयहरू छलफलमा रहने छन्:
- ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने।
- पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने।
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल र पारित गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने।
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको दफावार छलफल र पारित गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने।
- अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्नेसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गर्ने।
राष्ट्रियसभाको बैठक
दिउँसो १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा निम्न विषयहरू छलफलमा रहने छन्:
- ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल र पारित गर्नेसम्बन्धी प्रस्ताव।
- आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि छलफल र पारित गर्नेसम्बन्धी प्रस्ताव।
महत्त्वपूर्ण विधेयकहरू पारित हुने सम्भावना
आजको बैठकमा विभिन्न आर्थिक, वित्तीय, ऊर्जा तथा सहकारी क्षेत्रका विधेयकहरू पारित हुने सम्भावना छ। सङ्घीय संसद्को यी बैठकहरू नीति निर्माण र कानुनी सुधारका लागि महत्त्वपूर्ण मानिन्छन्।




