काठमाडौं – हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनुका साथै केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। यस्तै, पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ भने पहाडी भागमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
यसैगरी, लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। मौसम परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले मौसम परिवर्तनका कारण हुन सक्ने सम्भावित असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै हावाहुरी, चट्याङ, तथा हिमपातको प्रभावलाई ध्यानमा राखी सतर्क रहन अनुरोध गरेको छ।




