सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

काठमाडौँ, १४ चैत्र – सङ्घीय संसद्को दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभा, का बैठक आज पनि बस्ने भएका छन्।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन – २०८१ असार)’ पेस गर्ने कार्यक्रम रहेको छ। साथै, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव राख्ने कार्यक्रम रहेको छ।

यता, राष्ट्रियसभाको बैठक मध्याह्न १२:१५ बजेका लागि निर्धारण गरिएको छ। तर संसद् सचिवालयले राष्ट्रियसभाको सम्भावित कार्यसूची भने सार्वजनिक गरिसकेको छैन।