हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको योजना फेरि अन्योलमा

हेटौँडा, २०८१ चैत १० – लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना फेरि अन्योलमा परेको छ। पछिल्ला सरकारहरूले पटकपटक उद्योग सञ्चालनको प्रतिबद्धता जनाए पनि हालसम्म ठोस कार्यान्वयन हुन सकेको छैन।

यसअघि, तत्कालीन उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवको नेतृत्वमा कार्यदल गठन गरी उद्योग सञ्चालनको मोडालिटी, कानुनी र भौतिक संरचनाका विषयमा अध्ययन गरिएको थियो। तर, सो अध्ययन प्रतिवेदन कार्यान्वयन नभई अलपत्र परेको उद्योगका उपाध्यक्ष कुमार खतिवडा बताउनुहुन्छ।

नीति तथा कार्यक्रममा समावेश, तर कार्यान्वयन शून्य
गत २०८० माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग सञ्चालनका लागि तयारी भइरहेको घोषणा गर्नुभएको थियो। त्यसलगत्तै नेपाली सेनाले अध्ययन प्रतिवेदन बुझाएको थियो। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने लक्ष्य समावेश गरिएको थियो।

तर, सरकार फेरिएपछि यो योजना पुनः अन्योलमा परेको छ। औद्योगिक पुनरुत्थानका लागि भनेर ल्याइएका योजनाहरू परिवर्तनशील सरकारहरूको कारण कहिल्यै पूर्णरूपमा लागू हुन नसकेको स्थानीय उद्योगीहरू बताउँछन्।

रोजगारी र अर्थतन्त्रमा प्रभाव
उद्योग पुनः सञ्चालन भएमा स्थानीयस्तरमा हजारौंलाई रोजगारी उपलब्ध हुने र देशको अर्थतन्त्रलाई टेवा पुग्ने खतिवडाले बताउनुभयो। तर, सरकारले ठोस नीति नल्याएसम्म र दीर्घकालीन योजनासहित अघि नबढे सम्म उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएको छ।

हेटौँडा कपडा उद्योग नेपालको सबैभन्दा ठूलो कपडा उत्पादन उद्योगमध्ये एक थियो। औद्योगिकरणको विकासका लागि यो उद्योगको पुनः सञ्चालन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सरकारले यसलाई प्राथमिकतामा राखेर अघि बढाउने कि फेरि योजनाहरू कागजमै सीमित हुने? यो हेर्न बाँकी छ।