आरनबाट सल्किएको आगोले जलायो घर, दुई लाखभन्दा बढीको क्षति भएकाे छ।
फुङलिङ, चैत ९ गते – ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–२, फुलबारी चोकपुरमा शुक्रबार आगलागी हुँदा स्थानीय अम्बर सेन्दाङको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीका कारण घरमा रहेका सम्पूर्ण सामान नष्ट भई करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आरनबाट सल्कियो आगो
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलका अनुसार ढुङ्गा र माटोले निर्मित फुसको छाना भएको एक तले घरमा आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार आगलागीको कारण आरनबाट सल्किएको आगो रहेको छ।
घरधनी अम्बर सेन्दाङले आफ्नो घर लालबहादुर कालिकोटेलाई भाडामा दिएका थिए। तीन वर्षदेखि बस्दै आएका कालिकोटे घरमा नभएको समयमा आगलागी भएको वडा अध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिए। स्थानीय तथा प्रहरीको तत्कालको प्रयासले आगलागी फैलिन नपाउँदा नजिकैका अन्य घरहरू जोगिएको छ।
स्थानीयको सक्रियता र क्षतिको अनुमान
आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरीको सक्रिय प्रयासले थप क्षति हुन नपाएको वडा अध्यक्ष सेन्दाङले बताए। सुख्खायाम सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढ्दै गएको हुँदा स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने पीडित परिवारलाई आवश्यक राहत तथा सहयोगको पहल गरिने जनाइएको छ।




