रास्वपाको माग: २५ करोड प्रकरणमा केवल ड्राइभर होइन, वास्तविक मालिक सार्वजनिक गरियोस्

काठमाडौं, चैत ७ गते — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले हालै काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड रुपैयाँको वास्तविक मालिक सार्वजनिक गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पनि ठूला परिमाणमा सुन बरामद भए तापनि वास्तविक मालिक पत्ता नलागेको उल्लेख गर्दै यस पटक पनि त्यस्तै हुने आशंका व्यक्त गरे।

उनले भने, “२५ करोड रुपैयाँ टोखामा समातियो। विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं। ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो। कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला, ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरुलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?”

साथै, उनले सिन्धुपाल्चोकमा ७४० वटा भेपसहितको ट्रक समातिएको घटनामा पनि चिन्ता व्यक्त गरे। उनका अनुसार, उक्त भेप भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको रहेको र उनले नेकपा (एमाले) को पार्टी कार्यालय बनाउन जग्गा दान दिएका कारण उनलाई संरक्षण दिने प्रयास हुनसक्ने खतरा रहेको बताए। उनले भने, “भर्खरै सिन्धुपाल्चोकमा समातिएको ट्रक, जसमा ७४० वटा भेप समातियो। भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ। त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले त्यसलाई संरक्षण नगरियोस्।”

झाको यस अभिव्यक्तिले ठूला आर्थिक अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन सरकारको प्रतिबद्धता र क्षमता प्रति प्रश्न उठाएको छ। उनले भरियाहरूलाई मात्र कारबाही गरेर वास्तविक अपराधीहरूलाई उन्मुक्ति दिने परिपाटी अन्त्य गर्न आग्रह गरे।