प्रतिनिधि सभाको बैठक सुरु, प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु
काठमाडौं, ७ चैत – प्रतिनिधि सभाको बैठक आजदेखि सुरु भएको छ। बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनेछ। सांसदहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्री ओलीलाई प्रश्न राख्ने छन्, जसका उनले प्रत्यक्ष रूपमा जवाफ दिनेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल द्वारा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” दफावार छलफलका लागि पेश गरिने छ। उक्त विधेयक आर्थिक तथा वित्तीय पारदर्शिता र उत्तरदायित्वलाई अझै प्रभावकारी बनाउन ल्याइएको संशोधन विधेयक हो।
त्यसैगरी, अर्थमन्त्री पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१” माथि विस्तृत छलफल गर्ने कार्यसूची पनि रहेको छ। यस विधेयकले सरकारी स्वामित्वका उद्योग तथा सेवाहरूको निजीकरण प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ।
संसद सचिवालयका अनुसार आजको बैठकका प्रमुख एजेन्डा निम्नानुसार रहेका छन्:
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्ने कार्यक्रम।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” पेश गर्दै दफावार छलफल।
- “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१” माथि छलफल।
- अन्य विविध विषयमा छलफल तथा निर्णय।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरू पनि सक्रिय रूपमा सहभागी हुने अनुमान गरिएको छ। आर्थिक विधेयकहरूमाथि विशेष छलफल हुने भएकाले बहसमा विभिन्न दलका सांसदहरूको धारणा महत्त्वपूर्ण रहनेछ।
आजको संसद् बैठकपछि सरकारले नयाँ नीतिगत तथा कानुनी व्यवस्थाहरूको टुंगो लगाउने सम्भावना रहेको छ।





