शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशतरिपोर्टर्स डेस्क



२०८१ चैत्र ५, मंगलवार

काठमाडौँ, ५ चैत । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७।९३ प्रतिशत खर्च गरेको छ। आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।

मन्त्रालयका लागि रु ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन गरिएको थियो, जसमा सङ्घतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार विनियोजित गरिएको थियो। यस विनियोजन रकमको २५% चालुतर्फ र ७५% पुँजीगत तर्फ छुट्याइएको थियो। चालुतर्फ रु ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएका थिए।

मन्त्रालयका अनुसार चालुतर्फ खर्च २५.२३% भएको छ भने पुँजीगततर्फ खर्च १७.४३% रहेको छ। चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालय (सङ्घीय कार्यालय)बाट कार्यान्वयन हुने ३,७१६ नयाँ कार्यक्रममध्ये १,६२३ कार्यक्रमको बोलपत्र आह्वान भएको छ। बोलपत्र आह्वान भएका १,६२३ कार्यक्रममध्ये १,०९८ कार्यक्रमको ठेक्का सम्झौता भएको छ भने १२४ कार्यक्रम पूरा भएका छन्।

अर्कोतर्फ, बाँकी २,०९३ कार्यक्रममध्ये २८८ वटा बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित कार्यक्रम हुन्। मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार, १,४५९ वटा पुराना क्रमागत तथा बहुवर्षीय स्वीकृत कार्यक्रममध्ये चालु आवमा जम्मा २८० कार्यक्रम सम्पन्न भइसकेका छन्।

मन्त्रालयले झोलुङ्गे पुल निर्माणका लागि ३३० वटा पुलहरूको निर्माण लक्ष्य तय गरेको थियो, जसमा हालसम्म १६२ पुलहरू निर्माण सम्पन्न भएका छन्।

यसैवर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका लागि खुला गरिएको धरहराको अवलोकन १ लाख ३० हजारभन्दा बढीले गरेका छन् र यसबाट रु २ करोड ३७ लाख राजस्व सङ्कलन भएको मन्त्रालयले जानकारी गराएको छ।