पूर्वराजालाई माओवादीको सन्देश : २०३७ साल यताका परिवर्तन सम्झिनू

काठमाडौं, २६ फागुन – नेकपा माओवादी केन्द्रले गणतन्त्रको विरोधमा हुने गतिविधिको सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०३७, ०४६, ०६२/०६३ र ०७७/०७८ सालका परिवर्तन सम्झिन सुझाएको छ।

माओवादी केन्द्रका नेताहरूले प्राप्त अधिकार खोस्ने उद्देश्यले गरिने कुनै पनि गतिविधिलाई नेपाली जनताले साथ नदिने इतिहासले देखाइसकेको बताएका छन्। उनीहरूले विगतमा संसद् विघटनपछि उत्पन्न परिस्थितिसम्म स्मरण गर्न आग्रह गर्दै पूर्वराजालाई गणतन्त्रको सुदृढीकरणमा ध्यान दिन सुझाव दिएका छन्।

संसद् विघटन र पुनर्स्थापना

माओवादीका वरिष्ठ उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् विघटनको उदाहरण दिँदै भने, “यही केपी ओलीकै नेतृत्वमा भएको सरकारले अथवा केपी ओलीजीले दुई-दुई पटक झम्टीझम्टी प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। त्यसलाई हामीले पुनर्स्थापना गर्‍यौं। त्यो जनताले साथ दिएर भएको हो।”

२०७७ साल पुस ५ र २०७८ साल जेठ ८ गते ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको थियो। दुवै पटक सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएको थियो। त्यति बेला शीर्ष नेताहरू स्वयं सडकमा उत्रिएर विरोध गरेका थिए। सापकोटाका अनुसार, नागरिकको व्यापक समर्थनकै कारण संसद् पुनर्स्थापना सम्भव भएको थियो।

राजनीतिक परिवर्तनमा जनताको भूमिका

सापकोटाले नेपालमा भएका राजनीतिक परिवर्तनहरू जनताको सक्रियताले सम्भव भएको उल्लेख गरे। उनले भने, “इतिहास हेर्दा जहिले पनि जनता लोकतन्त्रकै पक्षमा उभिएका छन्। चाहे ०३७ सालको कुरा गर्नुस्, चाहे ०४६ सालको, चाहे २०६२/०६३ को।”

उनका अनुसार, माओवादीको सशस्त्र युद्ध जनताको साथकै कारण सञ्चालन हुन सकेको थियो। “२०५२ सालमा जब जनयुद्ध सुरु गरियो, त्यसबेला जनताको बलियो समर्थन थियो। १० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन र अन्य संघर्षका कारण नेपालमा राजतन्त्र अन्त्य भएको हो।”

२०६४ साल चैत २८ गते सम्पन्न संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई गणतान्त्रिक राष्ट्र घोषणा गरेको थियो। त्यसयता पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा बस्दै आएका छन्।

राजतन्त्र पुनःस्थापनाको प्रयास र माओवादीको प्रतिक्रिया

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले हालै शक्ति प्रदर्शन गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लाको भ्रमणपछि आइतबार पोखराबाट काठमाडौं फर्किंदा राजतन्त्र पक्षधरहरूले उनको स्वागतमा ¥याली निकालेका थिए।

यसै सन्दर्भमा, माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित हुने निर्णय गरेको छ। माओवादीले गणतन्त्रविरोधी गतिविधि रोक्न राजधानीमै प्रदर्शन गर्ने तयारी गरिरहेको छ। नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरूसँग पनि छलफल भइरहेको नेताहरूले बताएका छन्।

माओवादी केन्द्रले समाजवादी मोर्चासँग समेत छलफल गरिरहेको छ। समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, र महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टी रहेका छन्। जनता समाजवादी पार्टी नेपाल भने मोर्चाको गतिविधिमा निष्क्रिय देखिएको छ।

माओवादीको चेतावनी

माओवादीले गणतन्त्र विरोधी गतिविधिहरू बढ्दै गएमा प्रतिकार गर्ने चेतावनी दिएको छ। “राजावादी सडकमा आउँदैमा गणतन्त्र मासिँदैन,” माओवादी नेताहरूले भनेका छन्। उनीहरूले विगतका राजनीतिक परिवर्तनहरू स्मरण गर्न आग्रह गर्दै गणतन्त्रविरोधी गतिविधिहरूको सामना गर्न जनता तयार रहेको बताएका छन्।

यसबीच, माओवादी केन्द्रले सरकारलाई पनि राजावादी गतिविधिहरू नियन्त्रण गर्न अनुरोध गरेको छ। पार्टी नेताहरूका अनुसार, सरकारको नालायकीका कारण राजावादीहरू सक्रिय भएका हुन्। त्यसैले, उनीहरूले सरकारलाई सतर्क रहन र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न आग्रह गरेका छन्।