२६ फाल्गुन
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आत्मनिर्भर बनाउन गैह्रसरकारी संस्थाहरुलाई बाह्य अनुदानमा भर नपरी स्वदेशी स्रोत साधनको उपयोग गर्न आग्रह गर्नुभएको छ।
गैह्रसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको सन्दर्भमा सबै काम एक्लै गर्न नसकिने भए पनि नेपालको उर्वर भूमि तथा जनशक्तिको अधिकतम प्रयोग गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले सामाजिक संस्थाहरुलाई असफलता मात्र नभई सफलता, आशा र उपलब्धिको पनि चर्चा गर्नुपर्ने सुझाव दिँदै विकास प्रक्रियामा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पार्नुभयो। उहाँले देशको समृद्धि तथा विकासका लागि नागरिक समाजको योगदान महत्वपूर्ण हुने बताउँदै त्यसका लागि सकारात्मक दृष्टिकोण आवश्यक हुने उल्लेख गर्नुभयो।
राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “एउटा जुलुस निकाल्नुपर्यो भने पनि विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ।” उहाँले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले “अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन” भन्दै हरेक दिन एक कदम अगाडि बढ्ने सोचका साथ समृद्ध नेपालको यात्रामा आफूहरू अघि बढिरहेको बताउनुभयो। उहाँले लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने कुनै पनि गतिविधिलाई सरकारले नस्वीकार्ने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीको भनाइले नेपालमा विकास, समृद्धि, आत्मनिर्भरता र लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएको छ।





