परराष्ट्रमन्त्री डा आरजु राणा भारत प्रस्थान

२६ फाल्गुन,

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतको झारखण्डस्थित प्रसिद्ध धार्मिक स्थल बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि जानुभएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा अन्य उच्च अधिकारीहरुले मन्त्री डा राणालाई विदाइ गर्नुभएको थियो। धार्मिक भ्रमण पूरा गरेपछि उहाँ भारत सरकारको निमन्त्रणामा नयाँ दिल्लीमा आयोजना हुने ‘राइसिना डायलग’ मा सहभागी हुनुहुनेछ।

राइसिना डायलग मार्च १७ देखि सुरु हुँदैछ, जसमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। उक्त महत्वपूर्ण कार्यक्रमलाई परराष्ट्रमन्त्री डा राणाले सम्बोधन गर्ने कार्यक्रम छ। यस अवसरमा उहाँले नेपाल–भारत सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूबारे आफ्नो विचार प्रस्तुत गर्नुहुनेछ।

यसै भ्रमणका क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फलो-अप पनि गराउनुहुनेछ। उहाँको स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रम नयाँ दिल्लीस्थित अस्पतालमा हुने बताइएको छ।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्यसहितको यो भ्रमण महत्वपूर्ण रहेको भन्दै परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यसलाई सकारात्मक रुपमा लिएका छन्। मन्त्री डा आरजु राणा भारत भ्रमण पश्चात् नेपाल फर्कनुहुने कार्यक्रम रहेको छ।