काठमाडौं, २६ फागुन – प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) को सिंगो नेतृत्व पँक्ति पार्टीको एक महिने ‘जनतासँग माओवादी’ अभियान रोकेर काठमाडौंमा भेला भएको छ। झापाबाट सुरु भएको अभियान रौतहट पुग्दा काठमाडौंमा राजावादीहरुको सलबलाहट देखिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गणतन्त्रमाथि धावा बोल्न थालिएको भन्दै सशक्त प्रतिकारमा उत्रिनुपर्ने निश्कर्ष सुनाएका छन्। यही कारण माओवादीले आफ्नो अभियान स्थगित गर्दै काठमाडौं केन्द्रित रणनीति अख्तियार गरेको छ।
सडकबाट सशक्त प्रतिवाद गर्ने तयारी
राजावादीहरुको प्रदर्शनलाई गणतन्त्रको लागि खतरा मान्दै माओवादीले त्यसलाई बाहृय शक्तिको उक्साहटको परिणाम भनेर व्याख्या गरेको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकपछि निकालिएको निष्कर्षअनुसार सडकबाटै राजावादीहरुको प्रतिवाद गरिने भएको छ।
माओवादीका एक नेताका अनुसार, गणतन्त्र पक्षधरहरुसँग सहकार्य गर्दै तत्कालै सडकमा शक्ति प्रदर्शन गर्ने योजना बनाइएको छ। यस क्रममा पहिले समाजवादी मोर्चाको बैठक बोलाइनेछ र मोर्चामा आवद्ध दलहरूसँग संयुक्त प्रदर्शनको तयारी गरिनेछ। माओवादी नेतृत्वको बुझाइ छ कि समाजवादी मोर्चाका दलहरूले बेग्लाबेग्लै प्रदर्शन गर्नुभन्दा एकीकृत आन्दोलन गर्दा गणतन्त्र पक्षधर शक्तिलाई बल पुग्नेछ।
नेत्रविक्रम चन्द पनि काठमाडौं आउने तयारीमा
नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) पनि आजै काठमाडौं आइपुग्ने जानकारी प्राप्त भएको छ। राजावादीहरुको प्रदर्शनलाई नियन्त्रण गर्न माओवादीले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने योजना बनाएको छ।
प्रचण्डले पदाधिकारी बैठकमा नेपाली जनताले आन्दोलनको बलबाट फ्याँकेको पात्र (राजा ज्ञानेन्द्र) फेरि सक्रिय हुन खोज्नु गणतन्त्रका लागि ठूलो खतरा भएको भन्दै सडकबाटै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
सडक संघर्षको सम्भावना
माओवादी स्रोतका अनुसार, राजावादीहरुको प्रदर्शन बढ्दै गएमा माओवादी पनि प्रतिरोधका लागि आक्रामक रणनीतिमा जान सक्नेछ। सडकबाटै राजावादीहरुलाई ठेगान लगाउने रणनीतिसहित माओवादी केन्द्रको नेतृत्व अब काठमाडौंतर्फ केन्द्रित हुँदैछ।
राजनीतिक माहोल तीव्र रूपमा तात्दै गएको छ, जसले आगामी दिनमा नेपालमा ठूलो राजनीतिक संघर्ष चर्किन सक्ने संकेत गरेको छ।




