राजावदीको प्रदर्शन : प्रधानमन्त्री र विष्णु रिमालको निर्देशनमा आदित्यनाथको फोटो राखिएको ज्ञानेन्द्र शाहीको दाबी

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौं, फागुन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजो भएको राजावदीको प्रदर्शनमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा आयोजित र्यालीमा प्रधानमन्त्री ओलीको निर्देशनमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले योगी आदित्यनाथको फोटो राख्न लगाएको आरोप लगाएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे? आन्दोलन कहाँ छ भन्नेकुरा कसरी थाहा भयो?,’ शाहीले भने, ‘यो सबै उनीहरूको डिजाइन हो। आफै लगाएर खिचे अनि राखे।’

शाहीले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै त्यसको विरोध गरेका छन्।

‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,’ उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन्। विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ! माक्स, लेलिन, माओ कुन देशका हुन्?’

उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन्। कतिपयले शाहीको आरोपलाई सत्य मानेका छन् भने केहीले यसलाई उनको व्यक्तिगत दाबी मात्र भनेर प्रतिक्रिया दिएका छन्।

तर, यस विषयमा न प्रधानमन्त्री ओलीको सचिवालय न त विष्णु रिमालको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।