प्रधानमन्त्रीलाई एयरपोर्टमा गएर राजा ज्ञानेन्द्रको स्वागत गर्न ज्ञानेन्द्र शाहीको आग्रह

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं, फागुन २५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं एयरपोर्टमा गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रकाशित एक पोष्टमा शाहीले कतारका राजालाई स्वागत गर्ने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्ने विषयमा प्रधानमन्त्रीलाई सवाल गर्दै यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन्, प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।”

शाहीले आफ्नो पोष्टमा नेपालको वर्तमान राजनीतिक र आर्थिक अवस्थालाई लिएर पनि कडा टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “१६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन। गाउँ गाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यौ, कलकारखाना बन्द गर्यौ। राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ। अदालत कार्यकर्ताको बनायौ, प्रहरी कार्यकर्ताको बनायौ, कर्मचारी कार्यकर्ताको बनायौ, शिक्षक कार्यकर्ता बनायौ। भ्रष्टाचारले तिमीहरू डङ्ग डङ्गती गनायौ। तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने? अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो, जसलाई भनिन्छ राज संस्था।”

शाहीले यसैगरी सरकारलाई जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा नगर्न चेतावनी समेत दिएका छन्। उनले भनेका छन्, “जनताको आवाजलाई दबाउने र उनीहरूको आकाङ्क्षालाई अनदेखा गर्ने कुनै पनि प्रयासले देशलाई अझै गम्भीर संकटमा धकेल्न सक्छ।”

यसअघि पनि शाहीले राजतन्त्र पुनःस्थापनाको माग गर्दै आएका छन् भने उनीहरूले राजतन्त्र नै देशलाई स्थिरता दिन सक्ने दाबी गर्दै आएका छन्। उनको यो आग्रहले राजतन्त्र पुनःस्थापनाको बहसलाई फेरि एकचोटि उठाएको छ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। तर, यसले सरकार र राजतन्त्र समर्थक बीचको बहसलाई फेरि एकपटक उजागर गरेको छ।

नेपालमा २०६३ सालमा राजतन्त्र उन्मूलन भएपछि देश गणतन्त्र बनेको थियो। तर, केही राजनीतिक दल र व्यक्तिहरूले राजतन्त्र पुनःस्थापनाको माग गर्दै आएका छन्।

यस विषयमा राजनीतिक विश्लेषकहरूले भने राजतन्त्र पुनःस्थापनाको मागलाई अहिलेको राजनीतिक परिवेशमा गम्भीरतापूर्वक लिनु आवश्यक छ भन्ने बताएका छन्। उनीहरूले यसले देशको राजनीतिक स्थिरतामा ठूलो प्रभाव पार्न सक्ने बताएका छन्।