नागढुङ्गा-नौविसे सडक खण्डमा कालोपत्रेको काम सुरु

२५ फाल्गुन

धादिङ – संघीय राजधानी क्षेत्रमा आवत-जावत गर्ने मुख्य नाका त्रिभुवन राजपथको नागढुङ्गा-नौविसे सडक खण्डमा कालोपत्रेको काम सुरु भएको छ। स्तरोन्नती सहित निर्माणधीन अवस्थामा रहेको यो सडक खण्ड लामो समयदेखि निर्माणको नाममा अस्तब्यस्त बनेको थियो। तर अब यस खण्डमा कालोपत्रेको काम सुरु भएपछि यातायात सेवामा केही सहजता आउने अपेक्षा गरिएको छ।

नागढुङ्गा-मुग्लीन सडक योजना पूर्वी खण्डका प्रमुख केशव ओझाका अनुसार, यस सडक खण्डको १२ दशमलव २ किलोमिटरमध्ये ६ किलोमिटरमा पहिलो तहको कालोपत्रेको काम सम्पन्न भइसकेको छ। यस सडक खण्डको स्तरोन्नती र कालोपत्रे लगाएत सम्पूर्ण काम चालु आर्थिक वर्षको असार महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रमुख ओझाका अनुसार, हालसम्म यस सडक खण्डको ६८ प्रतिशत काम सम्पन्न भएको छ। यसका साथै नौविसेदेखि मलेखु खण्डसम्म पृथ्वी राजमार्गको निर्माण कार्यले पनि चालु महिनादेखि गति लिएको छ। यस खण्डको भौतिक प्रगति अहिलेसम्म ३० प्रतिशत मात्र भएको छ।

image 4

सडकको नाला निर्माण, टेवा पर्खाल लगाएतका अन्य संरचनाको निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ। सडकको एकातर्फी आधा चौडाईको ४ किलोमिटरमा पहिलो चरणको कालोपत्रेको काम पनि सम्पन्न भइसकेको छ।

सडक आयोजनाका अनुसार, चालु आर्थिक वर्षमा यस खण्डको ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नागढुङ्गा-मुग्लीन सडक स्तरोन्नतीको काम तीन खण्डमा विभाजन गरी सुरु गरिएको छ। नागढुङ्गादेखि नौविसेसम्मको पहिलो खण्डको निर्माण सगुन कन्स्ट्रक्सन र जियाङ्गसुले गर्दै छन् भने दोस्रो खण्ड नौविसेदेखि मलेखुसम्मको निर्माण शर्मा लामा जेडआईसिजीले जिम्मा लिएको छ। तेस्रो खण्ड शर्मा र जेडआईसिजीले संयुक्त रूपमा निर्माण गर्ने भएका छन्।

image 3

यस सडक खण्डको निर्माण पूरा भएपछि संघीय राजधानी क्षेत्रमा यातायात सेवा झन् सुगम हुने र स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।