मध्य पहाडी लोकमार्गः विवाद नसुल्झिँदा निर्माण ठप्प

लमजुङ, फागुन २३ गते। मध्य पहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिँदा सडक निर्माण सुरु हुन सकेको छैन। सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने योजनाको विरोधमा स्थानीय उत्रिँदा सडक निर्माणको काम हुन नसकेको हो। सात वर्षदेखि स्थानीयले सङ्घर्ष समिति बनाएर सडक निर्माणमा अवरोध गरिरहेका छन्।

स्थानीयको अवरोधले सुन्दरबजार–७ क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म दुई किलोमिटर र मध्यनेपाल–६ भोर्लेटार रानीपानी चोकदेखि मिदिमखोला पुलसम्म १७०० मिटर सडक निर्माण हुन सकेको छैन। लोकमार्गको मापदण्ड अनुसार दायाँबायाँ ३१÷३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुने र अर्बौं रुपैयाँको नोक्सान हुने भन्दै स्थानीयले विरोध गरिरहेका छन्।

सडक विस्तार गर्दा आफ्नो घर–जग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयको छ। सुन्दरबजार–८ का रामप्रसाद पण्डितले स्थानीयलाई उचित क्षतिपूर्तिसहितको प्रक्रिया अपनाए अवरोध नहुने बताउनुभयो।

सुन्दरबजारका श्रीचन्द्र लामिछानेको संयोजकत्वमा गठित सङ्घर्ष समितिले सडक निर्माणको विरुद्ध दुई वर्षअघि नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर सर्वोच्चले अहिलेसम्म कुनै फैसला गरेको छैन। गण्डकी प्रदेश सरकारले समस्या समाधानका लागि तत्कालीन भौतिक पूर्वाधार मन्त्रीको नेतृत्वमा कार्यदल नै बनाए पनि समाधान गर्न सकेन। लमजुङका प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पटक–पटक पहलकदमी लिँदा पनि स्थानीय टसमस भएका छैनन्।

सडक निर्माणका लागि सम्झौता अनुसारको समय अब दुई महिना मात्र बाँकी छ। लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका प्रमुख ईश्वरबहादुर रिजालले स्थानीयको अवरोधका कारण सडक निर्माण अन्योलमा परेको बताउनुभयो। स्थानीयको अवरोध हटेमा हप्ता दिनमा काम सुरु गरेर दुई महिनाभित्र काम सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो।

स्थानीयको अवरोध नहट्दासम्म निर्माणको काम अघि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ। विवाद समाधान गर्ने प्रमुख दायित्व जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तह र स्थानीयवासीको नै भएको आयोजनाले जनाएको छ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक निर्माणमा अवरोध हुनु दुःखद भएको बताउनुभयो। उहाँले स्थानीयको जायज माग सम्बोधन गर्दै निर्माणको काम अघि बढाउन पहल गरिरहेको बताउनुभयो।

पूर्वको पाँचथर देखि पश्चिम बैतडीसम्मको एक हजार सात सय ८७ किलोमिटर लम्बाइको मध्य पहाडी लोकमार्ग लमजुङमा ४५ किलोमिटर पर्छ। विवाद रहेको स्थानबाहेक बाँकी स्थानमा धेरैजसोमा कालोपत्रे भइसकेको छ भने केही स्थानमा कालोपत्रेको काम भइरहेको छ।

यसरी नै विवाद नसुल्झिँदा निर्माण कार्य ठप्प भएको अवस्थामा स्थानीयवासी, सरकार र सम्बन्धित पक्षहरूबीच छलफल बढाउनु आवश्यक देखिन्छ। विवाद समाधान गरेर यो महत्वपूर्ण लोकमार्ग निर्माणलाई गति दिन सकिने स्थानीयहरूको आशा छ।