पोखरा, कास्की: पोखरास्थित सूर्यदर्शन सहकारी संस्थामा रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरु भएको छ। कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा यो बहस सुरु भएको हो।
स्रेस्तेदार राजन खनालका अनुसार रवि र छवि दुवैलाई अदालत कार्यालय खुलेपछि उपस्थित गराइएको थियो। उनीहरुमाथि सहकारीमा ठूलो मात्रामा रकम हिनामिनाको आरोप लगाइएको छ, जसका कारण अदालतमा म्याद थपको बहस जारी छ।
अदालतबाहिर प्रदर्शन
रवि लामिछानेको बहस भइरहेका बेला शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले रवि लामिछानेको रिहाइको माग गरिरहेका छन्, भने प्रहरी प्रशासनले प्रदर्शनलाई नियन्त्रण गर्न शहीद चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रहरी परिचालन
सम्भावित अप्रिय घटनाहरूलाई ध्यानमा राख्दै सो क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ। अदालत परिसर र प्रदर्शन स्थलमा सुरक्षाकर्मीहरूको कडा निगरानी रहेको छ भने, प्रदर्शनलाई शान्तिपूर्ण राख्न प्रहरीले विशेष तयारी गरेको छ।
रवि लामिछाने र छविलाल जोशीको म्याद थप वा अदालतले अन्य कुनै निर्णय गर्ने सम्भावनामा सबैको ध्यान केन्द्रित भएको छ। सहकारी घोटालामा उनीहरूको संलग्नताको अनुसन्धान जारी छ र अदालतको निर्णयले यस प्रकरणलाई कता मोड दिनेछ भन्ने कुरामा ठूलो चासो रहेको छ





