छहरे-टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका-७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ । काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको छ । उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं। माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।
