सर्वाेच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सजायसमेत सुनाएको छ।
सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ। सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३ महिना कैद सजाय सुनाएको छ। यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्नेछ। उनीहरूलाइ जनही ५ हजार रूपैयाँ जरिवाना पनि तोकिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते सुनुवाइ भएको थियो।
सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।
