गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन् ।
आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् । गृहमन्त्री लेखकले भने,‘विपद न्युनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ । अर्को विपदको प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्युनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’
गृहमन्त्री लेखकले सरकारले आज चार वटा कुरामा जोड दिएर जाने बताए । बाढी र पहिरोबाट १४८ को मुत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले जानकारी दिए । ३ हजार ३ सय ३६ जनाको सकुसल उद्धार गरिएको उनको भनाई छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उनले बताए ।
डुवानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताए । नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पारेका छन् । ‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन । सेनाको हेलिकप्टर पनि त्यहाँ पु¥याउने कोसिस भएको हो । भिजिविलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन । उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ । नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो ।’
