धादिङको धुनिबेशी नगरपालिका–९ झ्याप्लेखोला गएको पहिरोले पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ। हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। झ्याप्लेखोलमा पहिरोले गाडी पुर्दा मृत्यु भएका मध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो। आज थप १६ वटा शव फेला परेको हो।
गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसको भने यकीन भएको छ। एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकीन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिएका छन्। पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ।
त्यस्तै चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकीन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिनसक्ने आशङ्का गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ। शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा२ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए।
फेला परेकामध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। उनका अनुसार सनाखत हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई छन्।
यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्। त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ। सनाखत भएका शनिबारै निकालिएका थिए। आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो। आज ४ महिला १२ पुरुष गरी जम्मा १६ वटा शव निकालिएको हो। ८ वटा शव बाहन उद्दारको लागि घटनास्थलतर्फ गएका छन्।
