धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ ।
महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी मानबहादुर राईका अनुसार प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको बताए । त्यस क्रममा एक जना प्रहरी कर्मचारीको औंलामा चोट लागेको उनले बताए । प्रदर्शनमा करिब २०० जना सहभागी छन । महसुल वृद्धिविरुद्ध बिहीबार बिहान उपमहानगर अगाडि धर्ना दिएका थिए ।
धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए । धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको थियो । बढेको महसुलविरुद्ध १० राजनीतिक दलले विरोध गरिरहेका छन् । आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसको भोलिपल्ट सोमबार राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका थिए ।





