बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि शनिबार बिहानसम्म मेघगर्जन, चट्याङसहित ठुलो हावाहुरी र वर्षाको सम्भावना रहेको सूचना जारी गरेपछि बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर विदा घोषणा गरिएको हो।
गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरीका अनुसार तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ। मौसम विभागका अनुसार लुम्बिनी र कोशी प्रदेशका जिल्लामा, नेपालगन्ज र दाङसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासमा ११९ किलोमिटर प्रतिघण्टाको तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ।
डुडुवा गाउँपालिकाले मौसम बदलिँदो भएकाले तीव्र हावाहुरी र वर्षाको सम्भावना रहेकाले सबैलाई सचेत रहन अनुरोध गर्दै सूचना सार्वजनिक गरेको छ।
यसैगरी, कोहलपुर नगरपालिकाले पनि सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ। नगर प्रहरी प्रमुख वीरबहादुर थापाले हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीको खम्बा र तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, विद्युतीय उपकरण नचलाउन र जोखिमयुक्त स्थानमा नबस्न सबै नगरबासीलाई आग्रह गरेका छन्।
विपद व्यवस्थापन बाँकेले पनि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न हाई अलर्ट जारी गर्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ।





