जेन-जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको ऐतिहासिक सिंहदरबार पुनर्निर्माणका लागि उपत्यका मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने भएको छ।
फोरमको बोर्ड बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक गर्दै मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सिंहदरबार र प्रहरी कार्यालयहरू पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए।
उनले भने, ‘ऐतिहासिक तथा राष्ट्रको धरोहर सिंहदरबार भवनको पुनर्निर्माणका लागि फोरमको तर्फबाट ५ करोड सहयोग गर्नेछौँ । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी प्रणाली व्यवस्थापन लगायतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई १ करोड रुपैयाँ र तोडफोड भएका प्रहरी चौकी पुनर्निर्माण गर्न, तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका उपत्यकाका नगरपालिकालाई समेत सेवा प्रवाहमा सहजीकरणका लागि क्षतिविवरणका आधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
काठमाडौं उपत्यका मेयर्स फोरम, काठमाडौं उपत्यकामा रहेका १८ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख सदस्य र तीनवटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष आमन्त्रित सदस्य रहेको संस्था हो ।