काठमाडौँ महानगरपालिकाको कक्षा ११ र १२ छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्तिको कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन प्राप्त भएका थिए, जसमध्ये १६,१३७ विद्यार्थी छनोटमा परेका थिए। तीमध्ये १४,१७३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

प्रवेश परीक्षा ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन गरिएको थियो। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० तथा सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुविकल्पीय प्रश्नहरू सोधिएका थिए।

परीक्षामा नकारात्मक अङ्कन लागू गरिएको थिएन भने उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक अनिवार्य गरिएको थियो।

विद्यार्थीहरूले नतिजा प्राप्त पासवर्ड र विवरण प्रयोग गरी अनलाइन प्रणालीमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।