ललितपुर महानगरपालिका (तत्कालीन उपमहानगर)का पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ ।
उनको शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।ललितपुरको कला संस्कृति र पुर्वाधार विकासमा योगदान गरेका वरिष्ठ राजनीतिज्ञ बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
एमालेबाट ललितपुरको मेयर जित्ने उनी अहिलेसम्म एकमात्र जनप्रतिनिधि थिए ।२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएर राजनीति र समाजसेवामा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए ।
२०४६ सालको व्यवस्था परिवर्तनपछि उनी एमालेमा आबद्ध भएर २०६१ सालमा एमालेमा रहेका थिए । राजा ज्ञानेन्द्रले उनलाई २०६० सालमा मनोनीत मेयर समेत बनाएका थिए ।





