अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थीको हत्या

अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन् । उनी सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको जनाइएको छ । अहिलेसम्म घटनामा कोही पनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि पठाइएको छ ।

नेपालको भोजपुरकी पाण्डे ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ ।