नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।
साधारण श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले साउदीको रियादमा श्रमिक भर्नासम्बन्धी सम्झौता भएको हो ।
सोमबार भएको हस्ताक्षर कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजी सहभागी थिए ।
हस्ताक्षरअघि दुवै देशका श्रम मन्त्रीहरूबिच द्विपक्षीय भेटवार्ता पनि भएको थियो ।
मन्त्री भण्डारीले सम्झौताले नेपाली श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत प्रभावी बनाउने तथा साउदीमा कार्यरत नेपालीको हकहित र रोजगार सुरक्षालाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।
एक दशकभन्दा लामो प्रयासपछि सम्पन्न सम्झौतामा सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापन र श्रमिक अधिकार संरक्षणका विषय समेटिएका छन् ।
यसले साउदीमा कार्यरत तथा भविष्यमा जाने नेपाली श्रमिकको सुरक्षा र स्थायित्व बढाउने विश्वास गरिएको छ ।
हाल साउदीमा न्यूनतम तलब नपाउने, करारपत्र फेरबदल हुने, घर जान नदिने र उपचारमा लापरबाहीजस्ता समस्याका उजुरी आउने गरेका छन् ।





