एनआरएनए जापानमा सुभाष लामिछाने अध्यक्ष निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि सम्पन्न निर्वाचनमा सुभाष लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक गरिएको निर्वाचन परिणाम अनुसार लामिछानेले ७,१५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतको फराकिलो अन्तरले पराजित गरे। श्रेष्ठले ५,१९३ मत प्राप्त गरेका थिए।

वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल निर्वाचित भए। उनले ६,४१८ मत ल्याएर प्रतिस्पर्धी कृष्ण गैरे शर्मालाई ४९१ मतले पछि पारे। महासचिवमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) ६,३८४ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी विश्वास गौतम (खगराज गौतम)ले ५,९६१ मत ल्याए।

उपाध्यक्ष पदमा मुक्तिराम खनाल (बिनोद), दिलिप कँडेल र दीपक सुनार विजयी भएका छन्। क्षेत्रीय उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी (विश्व) विजयी भएका छन्। खुला सचिव पदमा नेत्र पाण्डे र दिल्लि प्रसाद सापकोटा निर्वाचित भए भने क्षेत्रीय सचिवमा सागर कार्की विजयी भए।

कोषाध्यक्ष पदमा मुक्तिराज रेग्मी विजयी भएका छन्। क्षेत्रीय सह–कोषाध्यक्षमा सन्दीप जिसी र खुला सह–कोषाध्यक्षमा राम कँडेल विजयी भएका छन्। युवा संयोजक पदमा दीपक बुर्जा मगर विजयी भए।

निर्वाचन समितिका अनुसार, यो निर्वाचनमा उच्च संख्यामा मतदाताको सहभागिता रहेको थियो र निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न भएको थियो। नवनिर्वाचित अध्यक्ष सुभाष लामिछानेले संस्थालाई थप पारदर्शी, उत्तरदायी र सक्रिय बनाउने तथा प्रवासी नेपालीको हक–हितको संरक्षणमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि अध्यक्षको जिम्मेवारी नवीन निउरेले सम्हालेका थिए।