काठमाडौँको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालन  गर्दै आएका एक व्यक्तिको हत्या भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले ४० वर्षीय रुपक बान्तवाको हत्या भएको जानकारी दिए।

‘गएराति करिब १:४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए,’ एसपी अधिकारीले नेपालखबरसँग भने, ‘उपचारको क्रममा गएराति अढाई बजे सिभिल अस्पतालमा उनको मृत्यु भएको हो।’ बान्तवाले काठमाडौँ महानगरपालिका- १० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए।

उनको हत्या कसले र किन गर्यो खुलेको छैन। ‘घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको छ,’ एसपी अधिकारीले भने।