पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायरका लागि अख्तियारका कर्मचारीहरू आवश्यक कागजात लिएर विशेष अदालत पुगिसकेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको जनाइएको छ ।

महरा यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपबाट हुने गरेको सुन तस्करीमा जोडिएका थिए । यो प्रकरणमा संलग्न चिनियाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको बताइएको छ ।

सो गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसपछि भएको अनुसन्धानमा महरा र उनका छोरा राहुललगायतको संलग्नता खुलेको थियो ।