सामुहिक ब*लात्कार आरोपमा गाउँपालिका अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनाविरुद्ध सामूहिक बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

परिवर्तित नाम ‘भैरहवा–१५’ की युवतीले जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा दिएको जाहेरीका आधारमा अध्यक्ष चौधरी, राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध मुद्दा अघि बढाएको हो । आरोपितमध्ये यादव हाल थुनछेकका लागि कारागारमा छन् भने अन्यले आरोप अस्वीकार गर्दै कानुनी प्रतिरक्षा तयारी गरिरहेका छन् ।

यो प्रकरण केवल आपराधिक मुद्दामात्र नभई प्रक्रिया र पहुँचको बहस पनि बनेको छ । पीडित पक्षले सुरुमा प्रहरीबाट मुद्दा दर्ता नगरेको गुनासो गर्दै अदालत गुहारेपछि मात्रै अनुसन्धान अघि बढेको दाबी गरेको छ । अदालतको निर्देशनपछि प्रहरीले मुद्दा अघि बढाएको हो ।

अर्कोतर्फ, अध्यक्ष चौधरीले घटनालाई आफूविरुद्धको योजनाबद्ध फसावट भएको दाबी गरेका छन् । पारिवारिक विवादबाट सुरु भएको घटनालाई मोडेर झूठा आरोप लगाइएको उनको भनाइ छ ।

यसअघि पीडितको गोपनीयता भंग गरेको आरोपमा उनी साइबर अपराधमा तानिए पनि मुद्दा अघि नबढेको विषयसमेत फेरि चर्चामा आएको छ ।

घटना अब अदालतको प्रक्रियामा प्रवेश गरिसकेको छ, जहाँ प्रमाण, बयान र कानुनी बहसले अन्तिम निष्कर्ष तय गर्नेछन् ।