बारामा एकै परिवारका आमा–छोराको हत्या भएको छ । जिल्लाको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीका ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता बढाइएको छ ।
घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण पैदा भएको छ ।





