सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार, बैंक लुटपाटमा संलग्नहरू चढेर गएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् । यद्यपि थप सोधखोज चलिरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।अरु लुटेराको खोजी भइरहेको एसपी सुवेदीले जानकारी दिए ।





