जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहँदा रिजालले भदौ २३ मा आन्दोलनमा गोली चलाउन आदेश दिएका थिए। सर्वोच्च अदालतमा पेस गरेको जवाफमा उनले उक्त कदम ‘राजनीतिक समन्वयमा गरिएको’ दाबी गरेका थिए।
काठमाडौंका सीडीओ हुनुअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए। तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा कर्मचारीहरूलाई अध्यागमन तथा अन्य आकर्षक कार्यालयहरूमा पठाउँदा उनले ‘पेशागत आचरण विपरित काम’ गरेको आरोप लाग्दै आएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले विशेष अदालतमा पठाएको विवरणअनुसार, रिजालमाथि हाल भ्रष्टाचारको आरोपमा औपचारिक अनुसन्धान चलिरहेको छ।
यससँगै गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख तिर्थराज भट्टराईसहित डायरी र अस्वभाविक क्रियाकलापमा नाम उल्लेख भएकाहरूमाथि पनि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
रिजाललाई हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।





