राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार उनीविरुद्ध एमआरआई मेसिन खरिदमा घोटाला गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ अठार पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद र बिगोबमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम ९ करोड ३४ लाख २६ हजार ६ सय १९ रुपैयाँ ८७ पैसा असुलउपर हुन मागदाबी लिइएको छ । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ ।
भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् । उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन् ।




