सम्पर्कमा नआउने कैदीबन्दीलाई थप पाँच वर्ष कैद

कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफै सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार सूचना प्रकाशन गर्दै भदौ २४ गते कारागार कार्यालय गौर, रौतहटबाट भागि फरार भएका कैदीबन्दीहरु कतिपय सम्पर्कमा आएको र अन्य कैदीबन्दी सम्पर्कमा नआएको हुँदा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौर, रौतहटमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रहरी वा कारागार कार्यालयको सम्पर्कमा नआइ भागेकालाई कारागार ऐन २०७९ को दफा ४९ को  (ग) बमोजिम तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

जेनजी प्रदर्शनको क्रममा सुरक्षा ब्यवस्था फितलो हुँदा कारागार कार्यालय गौरबाट भदौ २४ गते राति २ सय ६० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दि मध्ये २ सय ११ जना अझै फरार रहेको कारागार कार्यालय गौरका प्रमुख मनिष झाले जानकारी दिनुभयो ।

भदौ २४ पछि कारागार कार्यालयको सुरक्षा नेपालि सेनाले गरिरहेको छ । कारागार कार्यालय कै सुरक्षा प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले गौरमा पुर्वमा  नेपाल लज, पश्चिममा गौर  घन्टाघर,उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च मावि सम्म निषेधाज्ञा जारि राखेको छ ।