कोशी प्रदेशमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको झडप र आगजनीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
जसमध्ये ५ जनाको सनाखत भएको छ भने अन्य ५ जनाको शवको जिम्मा लिन कोही नआएको प्रहरीले जनाएको छ । हालसम्म झापाको बिर्तामोडमा मृत्यु हुने ३ जना र सुनसरीको इटहरीमा मृत्यु हुने २ जनाको सनाखत भएको हो । इटहरीमा मृत्यु हुनेमा इटहरी-१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी-१४ का ४० वर्षीय चङ्खे भनिने मोहन सरदार रहेका छन् ।
यस्तै झापाको बिर्तामोडमा २३ गते भएको झडपमा परी मृत्यु हुनेहरूमा अर्जुनधारा-११ का ३० वर्षीय गोपाल सेढाई, अर्जुनधारा-८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारी रहेका छन् ।
झडपका क्रममा प्रदेश भरीमा ११४ जना प्रहरी घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै ५७ जना मध्यमस्तरको घाइते रहेको र अन्य सामान्य उपचारपछि काममा फर्किएका छन् ।
आन्दोलनकारीका तर्फबाट भने हालसम्ममा ४६ जना घाइते भएका छन् । उता, भदौ २४ गते धरानको भाटभटेनीमा भएको आगजनीमा परेर मृत्यु भएका ४ जनाको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा आगलागी भएको थियो । सोही क्रममा भित्रै जलेर नचिनिने अवस्थामा गत २७ गते चार जनाको शव भेटिएको थियो ।
यस्तै विराटनगरको भाटभटेनी सुपरमार्केटमा सोमबार भेटिएको एक जनाको शवको पनि पहिचान खुल्न सकेको छैन । अहिलेसम्म कोही पनि आफन्त हराएको भन्दै प्रहरी कार्यालयमा पुगेका छैनन् । शव पोस्टमार्टमपछि उनीहरूको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।




