प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि सप्तरीमा प्रदर्शन

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।

राजगढ गाउँपालिका– २ कमलपुरका ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।

भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।