सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट जाहेरीवालाको बहस

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस सुरु हुँदैछ ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी रहेको थुनछेक बहसमा हिजो बुधबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको तर्फबाट बहस सकिएपछि आजबाट जाहेरीवालाको बहस सुरु हुन लागेको हो ।

सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका छन् ।

अहिले कास्की जिल्ला अदालतमा रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथी बहस चलिरहेको हो । यस प्रकरणमा अव जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।