काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल कुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि भइरहेको व्यवहारको तीव्र आलोचना गरेका छन्।
डा. शर्माले लामिछानेलाई अनुसन्धानको नाममा प्रहरी हिरासतमा राख्ने क्रममा मानव अधिकार उल्लंघन भएको भन्दै यसलाई निन्दनीय र खेदजनक करार गरेका छन्। उनले लामिछानेलाई बिरामी हुँदा पनि अस्पतालमा जान नदिनु, उपचार पाउनुपर्ने नागरिक अधिकारमा रोक लगाउनु, मानसिक तनाव दिने र दुर्व्यवहार गर्नुजस्ता घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले गृहमन्त्री रमेश लेखकको भूमिकालाई पनि प्रश्न गर्दै तानाशाही प्रवृत्तिको आलोचना गरेका छन्।
डा. शर्माको भनाइ
डा. शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत लेखेका छन्:
“नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्रीको भूमिकामा रहँदा पनि तानाशाही ढंगबाट रवि लामिछानेमाथि गरिएको वर्ताव अत्यन्त खेदजनक छ। अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याई न्यायालयमार्फत न्यायिक निरूपण गर्नु पर्नेछ। प्रहरी हिरासतको नाटकीय श्रृङ्खलाले जनतामा शंका उत्पन्न गरेको छ।”
प्रजातान्त्रिक मुलुकमा अनुचित व्यवहारको आलोचना
डा. शर्माले नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा यस प्रकारको दमनपूर्ण व्यवहारले लोकतान्त्रिक मूल्यमान्यतामा आँच पुर्याउने खतरा औंल्याए। उनले छानबिनलाई निष्पक्ष बनाउन र न्यायिक प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका छन्।
गृहमन्त्रीको भूमिकामाथि प्रश्नचिन्ह
गृहमन्त्री लेखकको भूमिका कमजोर रहेको संकेत गर्दै उनले सरकारलाई प्रजातान्त्रिक विधि र नागरिक अधिकारको सम्मान गर्न सचेत गराएका छन्।
रवि लामिछानेको घटनाले देशको राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु गराएको छ। मानव अधिकार र न्यायप्रतिको प्रतिबद्धताको विषयमा सरकारको भूमिकाप्रति जनमानसमा चासो बढेको छ।





