अमेरिकाले आज (सोमबार) देखि इरानस्थित जलमार्ग होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाउने भएको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार होर्मुज स्ट्रेट आउजाउ गर्ने जहाजलाई आज साँझदेखि रोकिनेछ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘नाकाबन्दीको उद्देश्य इरानलाई तेल बेच्नबाट रोक्नु हो।’ यस प्रयासमा अन्य धेरै देशले पनि अमेरिकालाई सहयोग गर्ने दाबी ट्रम्पले गरेका छन्। ट्रम्पको दाबी छ, ‘इरानको सेनाले ठुलो क्षति बेहोरेको छ र यसको नौसेना लगभग नष्ट भएको छ। अनि १५८ जहाज ध्वस्त भएका छन्।’
नाकाबन्दी घोषणा हुनासाथ विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ। वेस्ट टेक्सास इन्टरमिडिएट प्रतिब्यारेल १०४ डलर र ब्रेन्ट क्रुड प्रतिब्यारेल १०२ डलर नाघेको छ। यसैबिच वाल स्ट्रिट जर्नलले पाकिस्तानमा वार्ता असफल भएपछि अमेरिकाले इरानमा दोस्रो सैन्य हमला गर्ने विचार गरिरहेको समाचार लेखेको छ।
ह्वाइट हाउसले भनेको छ, ‘सबै विकल्प खुला छन् र परिस्थितिका आधारमा थप निर्णय गरिनेछ।’ गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टा वार्ता गरिए पनि अमेरिका र इरानबिच सहमति हुन सकेन। जसले गर्दा गत मंगलबार दुई देशबिच २ साताका लागि गरिएको युद्धविराम अन्योलमा परेको छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फेरि वार्तामा आओस् कि नआओस्, मतलब नभएको बताएका छन्।




