दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण : इन्धन ट्याङ्कीमा आगलागी, उडान बन्द

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । सोही क्रममा सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन आक्रमण भएको हो ।

उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ । घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फेब्रुअरी २८ यता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।

यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ ।