इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ । इरानमा हमलापछि इजरायलले देशभरि आपतकाल घोषणा गरेको छ। इजरायलका रक्षामन्त्री इजरेल क्याट्जका अनुसार इरानबाट ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रतिकारात्मक आक्रमण हुन सक्ने त्रासका कारण देशभर आपतकाल लागू गरिएको हो ।
शनिबार बिहान तेहरानको डाउनटाउन क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक रिपोर्टअनुसार मिसाइलहरू दानेशगाह स्ट्रीट र जोम्हुरी क्षेत्रमा खस्दा ठूलो विस्फोट भएको देखिएको छ।
इसराइली सेनाले देशका विभिन्न स्थानमा हवाई हमलाको संकेत दिने साइरन बजाएको छ। इजरायलका विद्यालयहरू बन्द गरिएका छन् । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ र अत्यावश्यक सेवाबाहेकका कार्यस्थलहरू बन्द गरिएका छन् ।
इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअगावै आफूहरूले हमला गरेको इजरायली अधिकारीहरूले बताएका छन् । आठ महिना अघि दुई देशबीच १२ दिनसम्म युद्ध चलेको थियो।
गत वर्षको जुनमा इजरायलले अकस्मात् हमला गर्दै त्यहाँको सैन्य तथा परमाणु स्थलहरूमा बमबारी गरेको थियो भने वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएको थियो। प्रतिक्रियास्वरूप इरानले इजरेलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो।
त्यतिबेला अमेरिकाले पनि एक दिन इरानमा हमला गरेको थियो। भूमिगत परमाणु केन्द्रहरूमा उसले बमबारी गरेको थियो र लगत्तै युद्धविरामका निम्ति दबाव दिएको थियो। इजरायल र इरानबीच दशकौँदेखि वैमनस्यता रहँदै आएको छ।





