बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले मंगलबार देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्।राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले उनलाई जाटिया संसद् भवनको साउथ प्लाजामा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
आजै बीएनपी संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो। संसद्मा बहुमत प्राप्त बीएनपीले उनको नेतृत्वमा नयाँ सरकार गठन गरेको छ।
प्रधानमन्त्री रहमानको नेतृत्वमा २५ मन्त्री र २४ राज्यमन्त्रीसहित नयाँ मन्त्रिपरिषद् घोषणा गरिएको छ। सूचीमा २३ सांसद र २ प्राविधिक सदस्य समावेश छन्।
मुख्य मन्त्री पदमा मिर्जा फख्रुल इस्लाम आलमगिर, आमिर खोस्रु महमुद चौधरी, सलाहुद्दिन अहमद, इकबाल हसन महमुद लगायतका नेता चयन भएका छन्।
पार्टीका अनुसार नयाँ सरकारले आर्थिक सुधार, लोकतान्त्रिक संस्थाको सुदृढीकरण र प्रशासनिक पुनर्गठनलाई प्राथमिकता दिनेछ। बीएनपी लामो समयपछि सत्तामा फर्किएको यो घट्नालाई बङ्लादेशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण परिवर्तनको रूपमा हेरिएको छ।





