बंगलादेशमा बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा

बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत सुनिश्चित गरेको छ । प्रारम्भिक नतिजा अनुसार २९९ सिटमध्ये १६५ सिट बीएनपीले जितेको हो।

बीएनपी अध्यक्ष तारिक रहमान, जो पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्, ढाका–१७ र बोगुरा–६ क्षेत्रमा विजयी भइसकेका छन्। बेलायतमा १७ वर्ष बिताएर हालै मात्र बंगलादेश फर्किएका रहमानको प्रधानमन्त्री बन्ने अवस्था लगभग निश्चित छ।

मुख्य प्रतिपक्ष जमात–ए–इस्लामी गठबन्धनले अहिलेसम्म ४५ सिट जितेको छ भने नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिटमा अग्रता लिएको छ। अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन्। निर्वाचन आयोगले अझै अन्तिम आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ।

चुनावका क्रममा केही हिंसात्मक घटना पनि भएका छन्। खुला मतदान केन्द्रमा झडप हुँदा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ भने गोपालगन्जमा विस्फोट हुँदा तीन जना घाइते भएका छन्।

पूर्वप्रधानमन्त्री शेख हसिनाले चुनावलाई धाँधलीपूर्ण भन्दै रद्द गर्न आह्वान गरेकी छन्। उनका अनुसार आफ्नो पार्टी अवामी लिगले चुनावमा भाग लिन पाएको थिएन ।

यसैक्रममा ३६ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो। साथै, नेशनल चार्टरसम्बन्धी जनमतसंग्रह पनि भएको छ, जसमा ६५.३ प्रतिशत मतदाताले संविधान संशोधनको पक्षमा मतदान गरेका छन्।