सुडानी सरकारले शनिवार पश्चिमी सुडानी शहर एल फाशेर मा रहेको अस्थायी आश्रयस्थलमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको ड्रोन आक्रमणमा ५७ जना सर्वसाधारणको मृत्यु भएको रिपोर्ट गरेको छ।
सुडानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘आतङ्कवादी मिलिशिया’ ले एल फाशेरको दार अल–अरकाम आश्रय मा अर्को नरसंहार गरेको बताएको छ। मन्त्रालयले यो हमला विस्थापित व्यक्ति र सर्वसाधारणको सामूहिक विनाश गर्ने उद्देश्यले गरिएको आरएसएफको जारी योजनाको एक भाग भएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार मारिनेमा १७ बालबालिका, २२ महिला र १८ वृद्धवृद्धा समावेश छन्।
सुडानी सरकारले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई आफ्नो जिम्मेवारी लिन र आरएसएफलाई एल फाशेरमाथिको घेराबन्दी तुरुन्तै हटाउन र शहरमा आक्रमण रोक्न माग गर्दै आफ्नो प्रस्ताव लागू गर्न आह्वान गरेको छ। एल फाशेरमा मे २०२४ देखि नै हिंसात्मक झडपहरू जारी छन्।





